दुबई । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । आइपीएल इतिहासमा पहिलो पटक यो टोली फाइनल खेल्न लागेको हो । नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित यो टोलीले उनलाई भने यो सिजन बेन्चमै सिमित राखेको छ ।
युएईमा आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग मंगलबार भिड्नेछ ।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यो सिन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।
जसले गर्दा दिल्लीको फाइनल ढोका खुलेको हो । हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच चुनिए ।