काठमाडौं । अजरबैजानले विवादित नागोर्नो काराबाखको एक सहर कब्जा गरेको घोषणा गरेको छ । उसको यो दावीलाई अर्मेनियाले भने अस्विकार गरिदिएको छ । बीबीसीका अनुसार अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो काराबाखको शुशी सहर आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् ।
अर्मेनियाले भने यस भेगमा भिडन्त जारी रहेको र अजरबैजानको दावि झुट भएको बताएको छ । दुई मुलुकबीच सीमानामा विवादित अवस्थाको नागोर्नो काराबाख क्षेत्र ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो पहाडी क्षेत्र हो ।
यो सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । प्रारम्भमा यसलाई अजरबैजानकै हिस्सा मानिएको थियो । पछि अर्मेनियाले समेत यो क्षेत्रमा आफ्नो दावि बढाएपछि यहाँ सशस्त्र द्धन्द्ध भइरहेको छ । यहाँ इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बाहुल्य छ ।