मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट उम्कने तर मन्त्री र जनप्रतिनिधिले भने पूर्ण रुपमा सेवा सुविधा बुझेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

सोमबार कोरोना परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको सरकारले मन्त्रीहरुको सेवा सुविधा समेत काट्ने निर्णय गरेको छ । बैठकले पुस्तक आयातमा लगाएको कर समेत हटाएको छ ।

यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको यो निर्णयको समेत चर्को आलोचना भएको थियो । गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।