काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको उपाधी भिडन्त आज हुँदैछ । फाइनलमा सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्सले पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।
आज दिल्ली सामु मुम्बईबाट जारी सिजनमा भोगेको लगातार तेस्रो हारको बदला लिने मौका त छँदैछ, उसका लागि पहिलो उपाधी उचाल्ने मौका समेत आएको छ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुँदैछ ।
मुम्बई साविक विजेता हो । उसले छैठौं पटक फाइनल खेल्दैछ । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई हराएका कारण मनोवैज्ञानिक दवाव दिल्लीसामु रहेको छ । लिग चरणमा मुम्बईले १४ मध्ये ९ खेल जितेको हो । दिल्लीले भने ८ खेल जितेको हो ।