काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रिया थाल्ने छ । समितिले अहिले बनिरहेका खोपको अध्ययन, उक्त खोप नेपाल छिटो र छरितो माध्यमबाट कसरी ल्याउन सकिन्छ भन्नेबारे समेत अध्ययन गर्नेछ । मूल्यका विषयमा समेत समितिले काम गर्ने भएको छ । अहिले संसारका विकसित मुलुकहरु खोप आविष्कार र परिक्षणमा छन् ।
अमेरिका, चीन, रुस, भारत, बेलायतमा यसको धमाधम काम भइरहेको छ । खोप समयमै ल्याउने प्रयोजनका लागि आर्थिक स्रोतको जोहो अर्थ मन्त्रालयले मिलाउने भएको छ । यसअघि अमेरिकी औषधि उत्पादक कम्पनी पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताउँदै नयाँ उत्साह थपेका छन् ।
ति दुई कम्पनीले कोभिड १९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको दावि गरेका छन् । अमेरिकाबाट उक्त समाचार आएकै दिन सरकारले नेपालमा खोप आपूर्तिका लागि समिति गठन गरेको हो ।