नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कुनै पनि तहका बैठक राख्ने पक्षमा छैनन् । तर, पार्टीका अन्य नेता भने बैठक राखेर विवादहरुमा सामुहिक छलफल चलाउनु पर्ने मागमा छन् । सोहीकारण उत्कर्षमा पुगेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र कुनै निष्कर्ष आउन सकेको छैन ।

आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका थिए । बैठकमा केपी ओली पक्षधर नेता इश्वर पोखरेल र विष्णु पौडेल उपस्थित भएनन् । रामबहादुर थापा बादलसमेत उक्त बैठकमा गएनन् ।


आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य भने उपस्थित थिए । बैठकअघि प्रचण्ड बालुवाटर पुगेका थिए । उनले प्रधानमन्त्रीलाई २७ गते सचिवालय बैठकमा उपस्थित हुन सन्देश पठाएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम छ । सोहीकारण बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सचिवालय बैठकमा उपस्थित हुने अपेक्षा ५ नेताले राखेका छन् ।

प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमा अध्यक्ष ओलीसँग माग गरेका छन् । अध्यक्ष ओलीले भने २७ गते पनि बैठक सहमति जनाएका छैनन् ।