सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ ।

सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा आएको थियो । जसले यसको मूल्यमा ठूलो वृद्धि भएको छ । खोप निर्माणमा सफलताका समाचार आइरहँदा अब लगानी शेयर बजारमा जाने अनुमान छ ।

सोमबार सुन नेपालमा ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो सोमबारको तुलनामा तोलामा ७० रुपैयाँ कम हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भएको छ ।