दुबई । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौ उपाधी उचाल्न सफल भएको छ । १३ वटा संस्करण पुरा हुँदा सर्वाधिक उपाधी जित्ने टीमका रुपमा मुम्बई कायम रहेको छ । मुम्बई पछि चेन्नईले सर्वाधिक ३ पटक उपाधी उचालेको छ ।
युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको छ । मुम्बईले सन् २०१० मा पहिलो पटक फाइनल पुगेर चेन्नईसँग हारेको थियो । त्यसयता भने मुम्बईले हरेक फाइनलमा जितेको छ ।
मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनलमा स्थान बनेको दिल्ली भने निरास बनेको छ । कप्तान रोहित शर्माले मुम्बईका लागि सर्वाधिक योगदान गरेको खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो । रोहितले ६८ रनको योगदान गरे ।
इशान किसनले अविजित ३३ रन जोडे । दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा, र मार्कुस स्टोइनिसले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए ।
अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । दिल्लीले पहिलो बलमै मार्कुस स्टोइनिङलाई गुमाएको थियो । उनलाई ट्रेन्ट बोल्टले आउट गरेका हुन् । तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई आउट गरे ।
१५ रन बनाएर शिखर धवन समेत आउट भएपछि दिल्ली ३.३ ओभरमा २२–३ को अवस्थामा थियो । दिल्लीलाई कप्तान श्रेयास र ऋषभले महत्वपूर्ण भूमिका खेलेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।