काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् ।
प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका बाहिर जान लागेका हुन् ।
यसअघि वालुवाटरको चौघेराबाट बाहिर निस्कन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । जिल्लामा उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।
उनी संखुवासभामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षणमा पुग्ने भएका छन् । त्यसपछि उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफलको कार्यक्रम राखिएको छ ।
त्यहाबाट उनी भोटखोला ३ स्थित च्यान्ताङ पुग्नेछन् । त्यहाँ निर्माण भइरहेको विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने भएका छन् । त्यसपछि भने प्रधानमन्त्री काठमाडौं फिर्ता हुनेछन् ।