रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो ।

रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ । सोमबार अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो ।

रूसले गत अगस्ट मै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको हो । रूसले तेस्रो चरणको परीक्षण नसकिँदै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित रहेको बताइएको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका अनुसार भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम हुने नतिजा आएको छ ।