अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । यससँगै अब निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने निश्चित भएको छ । बिहीबार समितिले तीन जना राजदूतको नाम अनुमोदन गरेको हो ।

१६ असोजमा मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले दिएको जानकारी अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी परेका थिए । तर, उजुरीकर्ता भने सम्पर्कमा आएनन् । राजदूत नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

यसअघि बिहीबारको बैठकमा सांसदहरुले भने खतिवडासहित तीन जना राजदूतसँग विभिन्न प्रश्न राखेका थिए ।