आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा मनाइने गरेकोमा यो वर्ष तीथिमा भएको परिवर्तनले यी दुबै पर्व एकै दिन मनाउनु पर्ने भएको हो ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर नरक बगाउने गरिन्छ । आज घरको पहरेदार मानिने कुकुरको पूजा गरी मिठा परिकार खुवाइन्छ ।

लक्ष्मीपूजा समेत आजै परेका कारण साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ ।

सोहीकारण आज घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गर्ने प्रचलन रहेको छ ।