एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

काठमाडौं । नेकपामा एक्लो बनेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो पक्षमा तान्न छलफललाई पुनः तिब्र बनाएका छन् । अघिल्लो साता अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पत्रमार्फत वाकयुद्ध भएको थियो ।

त्यस क्रममा प्रचण्डले वर्तमान सरकारका कमी कमजोरी र आम मानिसले उठाएका प्रश्नलाई पत्रमा राखेका थिए । ओलीले भने यसलाई वाहियात र झुटो आरोप भन्ने गरेका छन् । आज ओलीले नेताहरुलाई फकाउने प्रयासमा वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमसँग भेटेका छन् । भेटमा दुबै नेताले ओलीलाई सच्चिन सुझाव दिएको बताएको छ ।

प्रचण्डको सरकारबारेको राजनीतिक प्रतिवेदनमा आफुहरुको समेत हिस्सा भएको भन्दै उनीहरुले ओलीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुको विकल्प नभएको सन्देश दिएर फर्किएका छन् । आज ओलीले नेता नेपालसँग करीव २ घण्टा र गौतमसँग करीव डेढ घण्टा छलफल गरेका छन् ।

आजको भेटमा महासचिव विण्णु पौडेलसमेत सँगै थिए । भेटमा पार्टीको बैठक राखेर सरकार र प्रधानमन्त्रीमाथि लागेका आरोपको खण्डन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले भने आरोपमा कुनै खण्डन दिनु आवश्यक नभएको अडानमा छन् ।

आजको भेटमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताएको समेत नेताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखेका छन् ।