काठमाडौं । आज हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिका मनाइदैछ । नेपालसहित विश्वभर रहेका नेपालीले आज दाजुभाइलाई दिदीबहिनीले टिका माला लगाइदिने तथा शुभकामना र उपहार आदान प्रदान गरी यो पर्व मनाइदैछ ।
यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने प्रचलन रहेको छ । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने गरिन्छ ।
दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । आज दिनभर टिका लगाउन सकिन्छ । तर, उत्तम साइत भने बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिको भनाई छ ।