तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । सोहीकारण आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ । उपल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको छ ।

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको महाशाखालाई उदृत गर्दै नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले जानकारी गराएको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ पर्दा तापक्रम माइनस ९ डिग्रिसम्म झरेको छ ।