प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

काठमाडौं । नेकपाभित्र बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार साँझ शितल निवासमै पुगेर उनले राष्ट्रपति समक्ष भेट गरेका हुन् । यो भेटलाई भने राजनीतिक परिदृष्यमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यो बैठक जसरी पनि सार्ने पक्षमा छन् । त्यसका लागि उनले आज प्रचण्डसमक्ष विण्णु पौडेलमार्फत प्रस्ताव समेत पठाएका छन् । तर, प्रचण्डसहित ५ सचिवालय सदस्य भने बुधबार जसरी पनि बैठक बोलाउनु पर्ने पक्षमा छन् ।

ओली उपस्थित नभएपनि बुधबार वालुवाटारमै बैठक बस्ने तयारी ५ जना नेताको छ । यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कात्तिक २९ मा लामो छलफल भएको थियो । पार्टी विवादमा राष्ट्रपतिबाट भएको सरगर्मीलाई भने धेरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।