कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो ।

खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी तथा एसियाली मुलुकमा भएको मृत्युले यो आंकडा बनेको हो । यसअघि २७ कात्तिकमा एकै दिन १० हजार ७ जनाको मृत्यु भएको थियो ।

त्यो रेकर्ड पछिल्लो २४ घण्टामा तोडिएको हो । अब कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाउने मानिसको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ । पछिल्लो २५ घण्टामा युरोपमा मात्रै ५ हजार २ सय जनाले ज्यान गुमाए । जसले गर्दा सर्वाधिक संख्यामा मानिसको ज्यान गएको हो ।

कोरोनाबाट अहिलेसम्म अमेरिकाले सबैभन्दा धेरै मानिस गुमाएको छ । युरोपमा भने बेलायतमा सर्वाधिक ५२ हजारको ज्यान गएको छ । यो मुलुकमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको ज्यान गयो । आज विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिए ।

अब कुल संक्रमित ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेका छन् । उनीहरुमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जनाले संक्रमणलाई जित्न सफल भएका छन् । अझै १ करोड ५६ लाख ३४ हजार ९८३ भने सक्रिय संक्रमित छन् ।