सिमकोट । कोरोना भाइरसको संक्रमण बढेपछि हिमाली जिल्ला हुम्लाले बाहिरी जिल्लाबाट प्रवेशमा रोक लगाएको छ । बुधबार हुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बस्दै बिहीबारबाट जिल्लाभर शैक्षिक संस्था बन्द गर्ने र जिल्लामा बाहिरी व्यक्तिको प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।
नेपालको राष्ट्रिय समाचार समितिका अनुसार अब जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँच कडाइ हुने छ । जिल्ला भित्र समेत अन्तरपालिका आवतजावतमा कडाइ गरिएको छ । हुम्लामा कात्तिक दोस्रो साताबाट स्कुल सञ्चालनमा आएका थिए ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्म बन्द गरिएको हो ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको बताइएको छ ।
कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउन कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको छ । जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने निर्णय समेत भएको छ ।