काठमाडौं । आज छठ पर्वको दोस्रो दिन ब्रतालुले ‘खरना’ मनाउँछन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट यो पर्व प्रारम्भ भएको हो । खरना विधिमा दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्ने गरिन्छ ।
माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने प्रचलन रहेको छ । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्छन् ।
पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्छन् । यो ‘सझुका अरख’ विधि हो । सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने प्रचलन रहेको छ ।