नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् ।
सार्वजनिक स्थलमा मास्क लगाउँदा मात्र समेत संक्रमणबाट बच्न सकिने भन्दै उनले कोरोना नसरोस भनी यस्तो नियम ल्याइएको बताए । उनका अनुसार अहिले पनि दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेड उपलब्ध छन् ।
पछिल्लो समय भारतमा संक्रमण दरमा उल्लेख्य कमी आएको छ । केजरीवालले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययन गर्न सर्वपक्षीय बैठक बोलाएका थिए ।
केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार रहेको उल्लेख गरे । दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन समेत रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरेका छन् ।