फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज पुनः आकासमा देख्न पाइने भएको छ । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले बुधबार बोइङलाई सो मोडलका जहाज जहाज उडाउने अनुमति दिएको हो ।

बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि प्राधिकरणले उडानको अनुमति दिएको हो ।

सन् २०१८ र २०१९ मा बोइङ ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेसँगै यो मोडलका जहाज ग्राउण्डेड भएका हुन् । संसारभर हजारौंका संख्यामा रहेका जहाज ग्राउण्डेड भएसँगै धेरै एयरलाइन्स कम्पनीले घाटा बेहोर्नु परेको थियो ।

इन्डोनेसिया र इथियोपियामा भएका दुई दुर्घटनामा ३४६ जनाले ज्यान गुमाएका थिए। बोइङ कम्पनीले समेत ७३७ म्याक्स जहाजको उत्पादन नै रोकेको थियो। बोइङको ७३७ सिरिजमा म्याक्स सबैभन्दा नयाँ मोडल हो।

यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती रहेको कम्पनीको भनाई छ । इन्डोनेसियाको लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा समस्या आएको अनुसन्धानले देखाएको थियो ।