ट्याक्टरले मोटरसाइकललाई ठक्कर, आमाको मृत्यु-बाबुछोरी गम्भीर घाइते

कंचनपुर । कञ्चनपुरमा ट्याक्रले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । राष्ट्रिय समाचार समितिले जनाए अनुसार कंचनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा आमाको निधन भएको छ ।

बाबु छोरी गम्भीर घाइते भएका छन् । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले उल्लेख गरेको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी हुन । गतराती भएको दुर्घटनापछि स्थानीयले केहीबेर सडक समेत अवरुद्ध गरेका थिए । प्रहरीले ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई पक्राउ गरेको छ ।