काठमाडौं । कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ।
महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो।
चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम सुरू भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।
सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे।
कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहेनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए।
उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरूद्ध लड्न सहयोग गर्नुपर्ने बताए।
काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ।सोही मोबाइल भ्यानबाट स्वाब संकलन गरिने उनले बताए।