दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?

दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनलाई पसिना आएको यो १८ औं पटक हो ।

मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको जानकारी दिनुभयो । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिनाअघि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।

यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिनुभयो । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।

त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दीर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ । तर पसिना आउन थालेपछि चलन अनुसार मन्दीर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् ।

पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।