नेपाकाठमाडौं । सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो।
कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
२०१ कम्पनीको सेयर किनबेच भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो।
यो परिसूचक कायम राख्न बिहीबार बैंकिङ समूहले महत्वपूर्ण भूमिका खेलेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरणका आधारमा बैंकिङ समूहको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । बैंकिङ समूहमा २६ वटा वाणिज्य बैंकको सेयर सूचिकृत छ ।
कारोबारको सुरुमा व्यापार र सामूहिक लगानी कोष उपसूचकबाहेक अन्य सबै समूह बढेको र त्यसले नेप्से सूचकलाई उचालेको थियो ।
तर, पछिल्ला कारोबारहरुमा बैंकिङ उपसूचक अन्य सूचकहरुको तुलनामा उच्च नै देखिएको छ भने कतिपय अन्य सूचकहरु ओरालो लागेका छन् । बैंकिङ समूह सूचक कारोबारको मध्यतिर ५२ अंकसम्मले बढे पनि केही समयपछि घट्दै ३८ अंकले बढेको छ ।
सेयर बजार बढेसंगै कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यो रकम हालसम्म कै सर्वाधिक हो । बिहीबा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ ।
नेपाल रिको प्रतिकित्ता १ हजार ३३९ मा ५८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रिको लगातार सबैभन्दा बढी कारोबार हुँदै आएको छ ।
दोस्रो बढी कारोबार नबिल बैंकको छ । नबिलको प्रतिकित्ता १ हजार १३० मा ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट लिमिटेडको १ हजार ११४ मा २८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेपाल टेलिकमको १ हजार ८९ मा २८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।