काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको तर साधन स्रोतको भने सीमितता रहेको बताएका छन् ।
उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएपनि धनको भने गरिब रहेकाले सोही अनुसार अपेक्षा राख्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले साधारण सभालाई सम्बोधन गर्दै केटाकेटीले अभिभावको गक्ष हेरेर सोही अनुसारको माग राख्नुपर्ने बताए । ‘सरकार व्यवसायीहरूलाई सहयोग गर्न तत्पर छ तर साधन स्रोतको भने सीमितता छ,’ प्रधानमन्त्रीले भने ।
व्यवसायीहरूलाई सहयोग पुर्याउनु राज्यको रुची र छनोट भएको प्रधानमन्त्रीले बताए । सम्बोधनमा प्रभानमन्त्रीले कोभिड १९ पछि अर्थतन्त्रलाई गति दिनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले कार्यक्रममा व्यवसायीहरूलाई साधारण सभाले कोभिड १९ पछिको रणनीतिको बारेमा निष्कर्ष निकाल्न र सरकारलाई सहयोग गर्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई कृषिमा लाग्न मानिसहरूलाई प्रेरित गर्न, त्यसको औद्योगिकीकरण गर्न र मेशिनिकरण गर्न सहयोग पुग्ने रणनिती बनाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकारलाई नवउदारवादको पक्षपोषक भएको, दलाल पूँजीवदी भएको जस्तो आरोप लगाइने गरेको समेत बताए । तर, त्यस्ता कुरा सुनेर सरकार व्यवसायीहरूको विरुद्धमा नलाग्ने र त्यस्ता हल्लाको पछि नलाग्न समेत उनले व्यवसायीहरूलाई आग्रह गरे ।
‘सरकारले उद्यमी र व्यवसायीहरू बीच भेदभाव गर्दैन । मेरो तेरो भन्दैन । राज्यलाई कर तिर्ने र रोजगारीको अवसर गर्ने सबै व्यवसायीहरूलाई सम्मान गर्छ,’ ओलीले भने ।