गुल्मीमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

गुल्मी । गुल्मीमा आज भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा पर्दा उक्त मानवीय क्षति भएको हो । कुल ९ जा सवार जीपमा तीन जना घाइते रहेको र चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि सदरमुकाम तमघास पठाइएको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीले पुष्टी गरेको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल छन् । इस्माबाट तम्घासका लागि छुटेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट ४ सय मिटर तल खसेको छ ।