भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ ।

शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी भए ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना बनाइएको छ ।

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ । जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद, बिक्री सम्झौतासमेत गरिसकेको छ ।

ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । सोलार प्लान्ट निर्माण गर्न आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको हो ।