काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । यद्दपी सरकार यो स्वीकार्न तयार छैन । तर, सूचकांकहरुले त्यस्तै संकेत गर्छन् । यस्तै चूनौतिका बीच नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । अब महासंघको नेतृत्व शेखर गोल्छाले गर्दैछन् भने उनलाई भावी नेतृत्व चन्द्र ढकालले साथ दिनेछन् ।
निर्वाचनमा यी दुई उद्योग फरक प्यानलमा थिए । गोल्छाले ढकालका प्रतिस्पर्धी किशोर प्रधानलाई साथ दिएका थिए । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब जित–हार भुलेर महासंघलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्छन् ।
आइतबार बिहान विजयी भएसँगै संचारमाध्यमसँग बोल्दै ढकालले निर्वाचनसँगै प्यानल पनि सकिएको बताए । त्यसो त कार्यसमितिमा प्रधान समुहको वाहुल्य देखिएको छ । तीन उपाध्यक्षमध्ये दुई जना प्रधान समुहबाट विजयी भएका छन् ।
अध्यक्ष समेत उनकै समर्थक भएका कारण ढकाल अल्पमतमै रहेर वरिष्ठ उपाध्यक्ष पद सम्हाल्नेछन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । नयाँ नेतृत्वसँग निरास बनेका व्यवसायीको मनोबल उकास्नेदेखि सरकारले गरेका पुनरुद्धारका घोषणा कार्यान्वयनमा दवाव दिनुसमेत हुनेछ । यसबाहेक लगानी प्रवद्र्धन, लगानीमैत्री वातावरणको निर्माणमा समेत महासंघको भूमिका रहनेछ ।