काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अमान्य भएको बताएको छ । प्रतिवेदनमा प्रधानमन्त्रीकै संलग्नतामा भष्ट्राचारको प्रवद्र्धन हुने गरेको उल्लेख छ । सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको टिप्पणी गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर खोज अनुसन्धानविनै मनोगत धारणाबाट प्रतिवेदन अभिप्रेरित रहेको बताएका छन् ।
उनले सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकारले अस्वीकार गर्ने उल्लेख गरेका छन् । सरकार विरोधीहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारिएको सरकारको टिप्पणी रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन इण्डेक्समा नेपाल १२४ औं स्थानमा देखिएको छ ।