सिड्नी । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाको पोल्टामा परेको छ । तीन खेलको शृङ्खलामा लगातार दुई खेल जित्दै अष्ट्रेलियाले होम ग्राउण्डमा सिरिजमाथि कब्जा जमाएको हो । दुई वटै खेलमा बलर चल्न सकेनन् भने रनको वर्षा भएको छ । आज सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटका भारत ५१ रनले पराजित भयो ।
शृङ्खलामा तीन खेल खेलिँदै छ । सिड्नीमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ९ विकेट गुमाउँदा ३ सय ३८ रनमा रोकियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन जोडे । के एल राहुलको नाममा ७६ रन रह्यो । श्रेयस ऐअरले ३८, शिखर धवनले ३०, मयंक अग्रवाल र हार्दिक पाण्ड्याले समान २८ र रविन्द्र जडेजाले २४ रन जोडे ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ तथा जस हज्लउड र एडम जम्पाले समान २, २ विकेट लिएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रनको विशाल योगफल तयार गर्यो ।
टोलीका लागि स्टिभ स्मिथले १ सय ४ रन बनाउँदै शतक पुरा गरे । डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रनको योगदान गरे । ग्लेन म्याक्सवेलले ६३ रन जोडे ।