श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा एक कारागार भित्र भएको झडपमा कम्तीमा ८ जना कैदीको ज्यान गएको छ । कोलोम्बोको महारा कारागारमा कोरोना भाइरसका संक्रमित बढेको भन्दै कैदीले आन्दोलन थालेका थिए । उक्त आन्दोलनमा दमन गरिएपछि भएको झडपमा ती कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । झडपमा ५० जनाभन्दा बढी घाइते भएका छन्।

बढी भीडभाड हुने कारागारमा संक्रमित बढेका छन् । कैदी बन्दीले भने परीक्षण बढाउन र उचित सतर्कताको माग गरी आन्दोलन थालेका हुन् । उनीहरुले संक्रमित कैदीहरूका लागि नयाँ आइसोलेशनको व्यवस्थाको माग गरेका छन् ।

प्रशासनले आइतबार अर्को कारागारबाट संक्रमित कैदीलाई कोलोम्बोको महारा कारागारमा लगेको उल्लेख गरेको थियो । त्यसपछि विवाद उत्पन्न भएको हो । झडपपछि व्यापक संख्यामा सुरक्षाकर्मी कारागारमा खटाइएको छ । श्रीलंकामा अहिलेसम्म २२ हजार ९ सय ८८ संक्रमित रहेका छन् । यस मुलुकमा १ सय ९ जनाको ज्यान गएको तथ्यांक छ ।