दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । उनलाई तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ गरिएको हो । गृहजिल्ला ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका उनीमाथि स्थानीय प्रशासनले निषेधाज्ञा तोडेको आरोप लगाएको छ ।
उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेस भने आक्रोसित बनेको छ ।
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई फोन गरी पौडेलको रिहाईको माग गरेका थिए । उनले पक्राउ गर्नुको कारणबारे समेत प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन् । कांग्रेस नेता गगन थापाले यो गिरफ्तारी प्रधानमन्त्रीका लागि महंगो पर्ने चेतावनी दिएका छन् ।
उनको रिहाईको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रदर्शन गरेको छ । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरिएको छ ।