काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो ।
दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक मामलामा राष्ट्रपतिको सक्रियतालाई भने धेरैले संशयका साथ हेर्ने गर्छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै खाले बैठकलाई बहिष्कार गर्ने रणनीति ल्याएका छन् ।
प्रचण्ड र अन्य नेताहरु भने सबै विवाद पार्टी भित्र छलफल गरी टुंगोमा पुग्नु पर्ने पक्षमा रहेका छन् । यसै सन्दर्भमा दुई अध्यक्षसँग राष्ट्रपतिले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।