काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न अर्को निर्देशन जारी गरेको छ । यसअघि अर्थ मन्त्रालयले एक महिना अगाडी कोरोना बीमाको भुक्तानी एक साता भित्रै गरिसक्नु निर्देशन दिएको थियो । तर, अर्थको निर्देशन पालना नभएपछि अर्को निर्देशन जारी भएको हो ।
अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
सोही प्रयोजनका लागि बुधबार र बिहीवार अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठक बसेको बताइएको छ ।
मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र के समस्या छन् भन्ने जानकारी पनि नियमित रूपमा मन्त्रालयलाई दिन बीमा समितिलाई निर्देशन दिएको हो । हजारौं दावि पुगेपनि भुक्तानीको अवस्था भने कमजोर रहेको छ ।