काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो ।
यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको नेपाल एयरलाइन्सको विमानमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्सलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो ।
त्यसलगत्तै हङकङ उडान भरेको एयरलाइन्समा पुनः दोस्रो पटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि भने करिब एक साताको अन्तरालमा भएको काठमाडौं–हङकङ उडान गरेको एयरलाइन्समा पुनः १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।
पटक–पटकको आफ्ना यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि र प्रतिवन्ध लाग्दै आएपछि एयरलाइन्सले निजी ल्याबको कैफितका कारण समस्यामा परेको निश्कर्ष निकाल्दै यात्रुहरुलाई सरकारी ल्याबबाट मात्र टेस्ट गर्न र रिपोर्ट वुझाउन भनेको थियो ।