डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै ज्यान गएको छ ।

मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको समेत उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरीले उद्धार गरेका छन् ।