लुम्बिनी। कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । मन्दिर आठ महिनादेखि बन्द थियो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप बाल्दै मन्दिर खुला भएको घोषणा गरेका हुन् ।
लामो समयसम्म मायादेवी मन्दिर नखुलेपछि लुम्बिनी क्षेत्र सुनसान बनेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण ११ चैतपछि सबै प्रकारका गतिविधिमा रोक लागेको थियो । सोही क्रममा मन्दिर समेत बन्द भएको हो ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाइने भएको छ । मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएको छ ।
सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने नियम बनाइएको छ । मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि भने ३ मंसिरबाटै खुल्ला गरिएको थियो ।