काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भ्एको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगरका ७० वर्षिय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकार दिएको छ ।
धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक पक्राउ परेका छन् । उता, काभ्रेको बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्ष हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा उपचार जारी छ ।