कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् ।

पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरु ढाकछोप आफैँ अगाडि सरेर गर्नुहुन्छ,’ बैठकमा पौडेलले भने,‘ देशमा भ्रष्टाचारको बिगबिगी छ। तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा किन सरकार र अख्तियार पुगे?’

पौडेलले पछिल्लो समय सरकारले अदालतलाई पनि पभावमा पारेको आरोप लगाएका थिए। पौडेलले झण्डै दुई तिहाइ बहुमतको सरकार भएपनि अहिले जनतालाई परेको सममस्याबारे कुनै चिन्ता नलिएको आरोप लगाए।

कोरोना महामारी रोक्न प्रभावकारी काम गर्न सरकारले नसकेको भन्दै पौडेलले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। ‘अहिले जनतालाई परेको समस्याबारे कुनै सोच्नु भएको छ,’ पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे,‘कोरोना रोकथाम गर्न के के गर्नु भएको छ? ’

बैठकमा राजवादीहरुको प्रर्दशनका बारेमा छलफल भएको थियो । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् । सरकारका कामका कारण देशमा व्यापक असन्तुष्टि भएको र त्यो असंतुष्टी राजवादी वा अरु नाममा सडकमा प्रकट भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

यस्ता प्रवृत्तिहरुले व्यपकता लिने नलिने सरकारको गतिविधिमा भरपर्ने कांग्रेसले बताएको छ । बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।