विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । सोही आधारमा गाउँलेले प्रहरीलाई गोली हानेर श्रेष्ठको हत्या भएको जानकारी गराएका थिए ।
उनको अपरिचित समूहले लिएर गएको र गोली पड्किएको आवाज सुनेपछि स्थानीयबासी समेत खोज तलासमा जुटेका थिए । त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको हो ।
आज दिउँसो मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको हो ।
शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले नेपाली संचारमाध्यमलाई जानकारी गराएका छन् । घटनास्थल मोरङको बिकट क्षेत्र रहेको बताइएको छ । मधुमल्लाबाट चार घण्टाको अवधिपछि मात्र प्रहरी उक्त स्थानमा पुग्न सकेको थियो ।