काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी औपचारिक रुपमै लिएको छ । पार्टी विरुद्ध सुराकी गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा हतियारसहित आक्रमणमा उत्रिएको र प्रतिकारका क्रममा उनको मृत्यु भएको समुहले उल्लेख गरेको छ ।
स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।
नेपालमा प्रतिवन्धित यस समुहका मेची, कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे समुहको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको समेत दाबी गरेको छ। तर, उनलाई हात बाँधेर अपहरण गरिएको स्थानीयले यसअघि नै प्रहरीलाई जानकारी गराएका थिए । उनको शवसमेत हात बाँधिएको र घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।
समुहले श्रेष्ठबाट २०७६ फागुन २६ मा पार्टीको मेची-कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी गरेको छ । श्रेष्ठले लामो समयदेखि पार्टीका विरुद्धमा सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा पनि नसुध्रिएको समेत उल्लेख गरेको छ ।
समुहको विज्ञप्तीमा भनिएको छ, ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए, २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’
श्रेष्ठले जनताका घरमा पटक, पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको समेत समूहले दावि गरेको छ । समुहको यो आततायी घटनाको भने नेपालमा कडा विरोध भइरहेको छ ।