काठमाडौं । चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस्तो आश्वासन दिएका हुने । काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्र पर्ने बुद्धका मूर्ति र स्तूप नहटाइने उनले बताएका छन् ।
स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदा संरक्षण गर्दै विकास निर्माणका काम अगाडी बढाइने बताएका छन् । उनका अनुसर सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेका भगवान् बुद्धको हजार मूर्ति र स्तूप जोगाउनुपर्छ भन्ने मान्यता प्रष्ट भएको बताए ।
सडकको आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको उनले बताए । प्राविधिक रुपमा सम्भव भए स्वयम्भू क्षेत्रका अन्य सम्पदा समेत जोगाउने आश्वासन उनले दिएका छन् ।
सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा सक्रिय रहेको समेत दावि गरे ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भूसहितका सम्पदा सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षणको दायित्व समेत सरकारको हुने बताए । काठमाडौं चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की बिस्तार भइसकेको छ ।
अहिले दोस्रो खण्डमा धमाधम काम भइरहेको छ । कुल ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोबीखोला सडक बिस्तार हुन लागेको हो । यो आयोजनामा चीनले सहयोग गरिरहेको छ ।