न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

न्यूह्यामसर

राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् ।

‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत भए । कोरोना भाइरस संक्रमणका कारण बुधबार बुधबार साँझ ‘भर्चुअल’ समारोह आयोजना गरि अवार्ड वितरण गरिएको हो ।

बिभिन्न विधामा पुरष्कृत ६४ समाजसेवीमध्ये खुला मतदान मार्फत पिपुल्स च्वाइस अवार्ड बिजेता चयन गरिएको हो । सन् २००३ देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएका भट्ट नेपाली समुदायमा समाजसेवाका लागि सुरु देखि नै सकृय छन् । समुदायमा अफ्ठेरोमा परेका ब्यक्तिलाई काम एवं कोठा खोज्ने देखी आवश्यक परेको जे सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको भट्ट बताउँछन् । सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पिडितलाई सहयोगका लागि भट्टले आर्थिक संकलनमा सकृय तत्परता देखाएका थिए ।

उनी राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्था न्यूह्यासर नेपाली समाजमा स्थापना देखिनै आवद्ध छन् । बिभिन्न कारणले आर्थिक अफ्ठेरोमा परेका नेपालीलाई सघाउन उनले सन् २०१५ मा आपतकालिन राहत कोष स्थापना गरेका थिए । सन् २०१७ यता समाज अन्तर्गत रहेको कोषको संयोजक भट्ट नै रहेका छन् । कोषबाट हालै कोरोना भाइरस महामारीका कारण काम गुमाएका नेपाली विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । भट्ट अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्फत भाषा साहित्यको प्रवर्धनमा पनि सकृय छन् । अनेसास न्यूह्यामसर च्याप्टरको उनी प्रधान सम्पादक रहेका छन् ।

छत्रकुमारी गुरुङ

त्यस्तै उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान्नित हुनेमा गुरुङ समाज न्यूह्यामसरकी अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिकाकी बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङ पनि छिन् । एनएच भोल्युन्टरले गुरुङलाई कोरोना भाइरस संक्रमणका बेला समुदायको हितका लागि सदैव तत्पर व्यक्तिको रुपमा सम्मान गरेको जनाएको छ । सन् २००७ देखि राज्यमा बसोबास गर्दै आएकी गुरुङले अफ्ठेरोमा परेका ब्यक्तिलाई आवास खोजिदिने देखि काम र व्यवसाय सुरुवातसम्ममा सहयोग पुर्याउँदै आएकी छिन् । उनी सामाजीक न्यायका दृष्टिले समेत समाजसेवामा सकृय रहेको संस्थाले उल्लेख गरेको छ ।

उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान पाउने अन्य नेपालीमा एरभेष्ट सेन्थेनियल लाइन्स क्लवका सचिव अजय रानाभाट र कोब्ली साएर कलेजकी नर्सिङ विदर्यार्थी स्मृती शर्मा सापकोटा रहेका छन् । रानाभाटले कोरोना भाइरस संक्रमणका बेला लाइन्स क्लव मार्फत निरन्तर समाजसेवी भूमिका निभाएको संस्थाले जनाएको छ । कलेजको क्रस कल्चलर क्लवकी उपाध्यक्ष रहेकी शर्माले सामूदायीक नेतृत्व देखाएका कारण उनलाई यस बर्षको ‘न्यूम्यान सिभिल फेलो’ अवार्ड प्रदान गरिएको जनाएको छ । शर्माले २२ मुनिका युवा उमेर समूह एवं अरु तीन जनाले वयस्क समूह अन्तर्गत सम्मान पाएका हुन् ।

यस्तै सामाजीक गतिविधीमा सम्लग्न गैर नाफामुलक संस्थातर्फ न्यू ह्यामसर नेपाली समाज पनि सम्मान्नित भएको छ । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा भरोसाको रुपमा रहेको संस्थाले कोरोना भाइरस संक्रमणका बेला सुरक्षा उपकरण जुटाएर समुदायमा वितरण गरेको थियो । राज्य बाहिर बस्ने नेपालीहरुलाई समेत संस्थाले सहायता प्रदान गरेको थियो । नेपाली भाषा एवं कला संस्कृती प्रवर्धनमा संस्था निरन्तर सकृय छ ।

स्पिरिट अवार्ड पाउने नेपाली मूल बाहेक अन्य व्यक्ति एवं संस्थामा राज्यमा सकृय खाद्य बैंक एवं विभिन्न सामाजीक अभियन्ताहरु छन् । अधिकांशले कोरोना भाइरस संक्रमणसँग जुध्न समाजको गरेको योगदानकै कारण सम्मान गरिएको ‘भोल्युन्टर एनएच’ले जनाएको छ ।