काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणका लागि खेलहरुको मिति तय गरेको छ । यसअघि यी खेल मार्च अप्रिलमै सकिनु पर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण रोकिएका खेलहरु एक वर्षपछि पुनः सुचारु हुन लागेका हुन् ।
खेलहरु २०२१ मार्च र जुनमा हुने एएफसीले जानकारी दिएको छ । छनोट चरणका खेलहरु जुन १५ सम्म सकिने छन् । नेपालले पहिलो चरणका खेल खेलिसकेको छ । अब दोस्रो चरणमा होम गेम बाँकि छन् । जुन दशरथ रंगशालामा हुनेछन् ।
नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकि रहेको छ । तालीका अनुसार नेपालले आगामी २५ मार्चमा चाइनिज ताइपेई, ३० मार्चमा अस्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्ने भएको छ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।
नेपालले चाइनिज ताइपेईलाई मात्र हराउन सकेको छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । यो टीम यसअघि पटक पटक विश्वकप खेलिसकेको हो । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।