न्यूयोर्क
आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् ।
यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको ढोका ढक्ढक्याएका थिए । उनको मुद्दामा रिपब्लिकन शासित बिभिन्न १७ अन्य राज्यका महान्याधिवक्ता सहित ११६ जना रिपब्लिकन हाउस अफ रिप्रिजेन्टेटिभले ऐक्यवद्धता जनाएका थिए ।
टेक्सासका रिपब्लिकन सिनेटर जोन क्रोनिन लगायत कैयन् रिपब्लकिन नेताहरुले मुद्दाको कानूनी धरातल नरहेको बताउँदा पनि ट्रम्प समर्थकहरु सर्बोच्च पुगेका थिए । ट्रम्प क्याम्पेनले समेत मुद्दामा ऐक्यवद्ता जनाएर छुट्टै निवेदन दर्ता गराएको थियो ।

मंगलबार दायर मुद्दामा प्रतिवादी बनाइएका पेन्सिलभेनिया, मिसिगन , जर्जिया र विसकनसनका महान्यायाधिवक्ताहरुले विहीबार सर्बोच्चमा जवाफ दिएका थिए । सर्बोच्चले मुद्दामा कुनै कानूनी धरातल नरहेको कारण थप सुनुवाइ आवश्यक नरहेको भन्दै शुक्रबार खारेज गरि दिएको हो ।
निर्वाचन हारेपछि ट्रम्पले परिणाम उल्ट्याउन आफ्ना समर्थकहरुलाई देशब्यापी रुपमा आह्वान गर्दै आएका छन् । तर, देशभर पाँच दर्जन हाराहारी मुद्दामा पराजित हुँदा पनि परिणाम स्वीकार्नुको साटो चुनावमा धाँदली भएको दावी दोहोर्याउन छोडेका छैनन् । उनको झुठो प्रचारलाई केही रिपब्लिकन नेता र कन्जरभेटिभ मिडियाहरुले निरन्तर साथ दिँदै आएका छन् ।