न्यूयोर्क । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउन सुरु गरिदैछ । पहिलो चरणमा जोखिम क्षेत्रका काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्ने र ज्येष्ठ नागरिकलाई खोप दिने तयारी रहेको छ ।
विश्वमा सबैभन्दा बढी प्रभावित तथा मानवीय क्षति भएको अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाउने कार्यक्रम तय भएको छ । मंगलबार थप ४ सय २५ ठाउँमा खोप दिइने भएको छ ।
बीबीसीका अनुसार पहिलो चरणमा लगाउन तीस लाख डोज खोप उपलब्ध भएको अमेरिकी अधिकारीले जनाएका छन् । अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको हो ।
अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएको थियो । फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्म अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने बताइएको छ ।
यस्तो खोप दुई डोज लगाउनुपर्ने चिकित्सकले बताएका छन् । पहिलो खोप लगाएको तेस्रो हप्तामा अर्को खोप लगाउनु पर्छ । फाइजरले बनाएको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् ।