नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने

काठमाडौं । नेपालले सन् २०२२ मा आयोजना गरिने टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वरियतामा राम्रो गरेका कारण नेपालसहित चार मुलुकलाई सिधै ग्लोबल छनोटको स्थानमा लगेको हो । प्रतियोगिता अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुनेछ ।

सोही प्रतियोगिताक लागि अहिले विभिन्न चरणमा छनोट प्रतियोगिताहरु जारी रहेका छन् । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको छ । फेब्रुअरी र मे २०२२ मा ग्लोबल छनोटका खेल हुनेछन् ।

यस प्रतियोगितामा भने कुल १६ टोली सहभागी हुनेछन् । यहाँबाट ४ टोलीले विश्वकपमा स्थान बनाउने भएका छन् । छनोटबाट पहिलो चार स्थानमा रहन सफल भएमा नेपालले सन् २०२२ अक्टोबरमा आयोजना हुने विश्वकप खेल्न पाउने छ ।

नेपालले सन् २०१४ मा विश्वकप खेलिसकेको छ । त्यसपछि भने छनोट हुन सकेको छैन । दुई समूहमा हुने ग्लोबल छनोटबाट २, २ टोली विश्वकपमा खेल्नेछन् । ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने भएको आइसीसीले जनाएको छ ।

क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।