काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे गम्भीर छलफलको तयारी छ ।
प्रधानमन्त्रीबाहेकका नेकपाका सबै शीर्ष नेता यो अध्यादेशको विरुद्धमा छन् । उनीहरुले संसद बोलाएर नियमित प्रक्रियाबाट कानून बनाउन माग गरिरहेका छन् । यो नेकपामा नयाँ विवाद हो । यसअघि दुई अध्यक्षका आरोप प्रत्यारोपसहितका पत्र र प्रतिवेदन समेत स्थायी समितिमा छलफलका क्रममा छन् ।
मंगलबारको अध्यादेशले पार्टीभित्रको सम्बन्धलाई अझ जटिल बनाइदिएको छ । आइतबार बसेको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै आजका लागि सरेको थियो ।
पार्टी र मन्त्रीपरिषदमा समेत छलफलै नगरी अध्यादेश ल्याएपछि यतिबेला अर्का अध्यक्ष प्रचण्डसहित पार्टीका नेता प्रधानमन्त्रीविरुद्ध आक्रोसित बनेका छन् ।
प्रधानमन्त्रीले यसअघि गत वैशाखमा समेत पार्टीसँग परामर्श नगरी राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। पार्टीको चर्को आलोचना र दवावपछि उनी अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए ।