बैठकमा आएनन् ओली, बालुवाटारमा घाम ताप्दै स्थायी कमिटी सदस्य

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजनीतिक प्रस्तावबारे छलफल गर्ने भए आफू बैठकमा नआउने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।

बुधबार मध्यान्ह अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री अ‍ोलीले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनबारे असन्तुष्टी जनाउँदै बैठकमा नआउने बताएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आजका बैठकका एजेन्डाबारे सोधेका थिए । उनले सचिवालयमा पेश भएका राजनीतिक प्रतिवेदन, अध्यादेशबारे छलफल गर्ने कार्यसूची रहेको भनेपछि प्रधानमन्त्री ओलीले बैठकमा नआउने बताएका थिए ।

‘यही पुराना एजेण्डाबारे छलफल गर्ने भए म आउँदिन भन्नुभएछ’, एक स्थाय कमिटी सदस्यले भने, ‘उहाँ नआएपछि हामी बाहिर बसिरहेका छौं । उहाँ नआएमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रचण्डसहित अन्य साथीहरु छलफल गरिरहनु भएको छ ।’

बैठकमा प्रधानमन्त्री ओली नआएपछि स्थायी कमिटी सदस्य भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका छन् । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै उनीहरु शीतल निवास पुगेका हुन्